अभिनयका बादशाह

डेनी

 

उच्चकोटीको अभिनय कला र कर्णप्रिय स्वरका कारण डेनी डेञ्जोङपा दर्शक र स्रोतामाझ प्रिय र परिचित भएका हुन् । महसुर अभिनेता डेनीको जन्म आजभन्दा ६८ बर्षअघि सिक्किममा भएको हो । उनको खासनाम छिरिङ फिन्छो डेञ्जोङपा हो ।

डेनीले आफ्नो करिअरको सुरुवात गायकको रुपमा गरे । उनले सन् १९७० ताका ‘मनको कुरालाई बाँधी नराख…’, चिसो चिसो हावामा…. जस्ता नेपाली गीत गाएका थिए । हिन्दी गायन तर्फ चाहिं सन् १९७२ मा उनले ‘ये गुजिस्तान हमारा’ नामको फिल्ममा लता मङ्गेश्वरसंग युगल गीत गाएका थिए ।

सन् १९७६ मा आशा भोशलेसँग उनले गाएको ‘आगे आगे तोपैको गोला…’ गीतले तत्कालीन समयमा तहल्का नै मच्चाएको थियो । त्यसपछि उनी गायकको रुपमा चिनिन थाले । हिंउ भन्दा चिसो, झिम्क्याइदेउ परेली, रातो रानीफुलेझै साँझमा, सुन कथा एउटा गीत जस्ता गीत नेपालमा धेरै गुञ्जिनेमा पर्नथाले । ७० देखि ९० को दशकसम्म उनका गीत नेपाली जनजीवनमा अति प्रिय भए ।

डेनीले हलिउडमा ‘डेव्यु’ गर्नु अघि नेपाली फिल्म ‘साइनो’ मा अभिनय गरे । भाञ्जा उगेन छोपेलको निर्देशन रहेको साइनोले नेपाली दर्शकको मन जित्यो । हलिउड फिल्म ‘सेभेन यर्ष इन टिबेट’ को लोकप्रियता पनि कम थिएन । यस फिल्ममा अभिनेता ब्रान्ड पिटसंग डेनी जमेका थिए ।

डेनिले अभिनय गरेका निकै हिन्दी फिल्म ब्यवसायिक रुपमा सफल रहे । सन् १९७१ मा फिल्म ‘जरुरत’वाट सुरु भएको उनको अभिनय यात्रा म्याराथुन शैलिमा अघि बढिरहयो । देवता, अग्निपथ, सनमवेवफा, हम, खुदागवा, क्रान्तिवीर, बर्षात, लज्जा, अशोका, १९४२ अ लभ स्टोरी, ब्याङ–ब्याङ देखि बेबीसम्म आइपुग्दा उनले
२ सय फिल्ममा अभिनय गरिसकेका छन् । उनले अन्य केही भाषाका फिल्ममा पनि अभिनय गरे । दमदार अभिनयका कारण ४५ वर्षे फिल्मी करिअरमा डेनी सम्पूर्ण बलिउडले सम्मान गर्ने नाम भएका छन् ।

डेनी खलचरित्रमा वढी रुचाइए । तर उनले सवैखाले भूमिका निर्वाह गरेर आफूलाई अब्बल सावित गरिरहे । उनले फिल्म निर्देशन पनि गरे । ‘फिर नही रात’ र राम उनले निर्देशन गरेका फिल्म हुन् ।

वलिउड फिल्म जगतको उन्नयन र यसको श्रीवृद्धिमा उल्लेख्य योगदान गरेका कारण डेनीलाई सन् २००३ मा भारतको चौथो सर्वोच्च पद्म श्री पदकवाट सम्मानीत गरियो । उनले जीवनमा धेरै पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।

गायन, अभिनय, चलचित्र निर्देशन लगायतका विधामा हात हालेका डेनीसँग अथाह प्रतिभा रहेको पाइन्छ । जीवन्त अभिनय उनको सवैभन्दा माननीय पक्ष हो । चित्रकला, घोडचढी र लेखन उनका रुचीका विषय हुन् । यसरी हेर्दा उनीभित्र प्रतिभाका धेरै बेणी र त्रिबेणी प्रवाह भइरहेको देखिन्छ ।

जीवन नै अभिनय कलामा समर्पित गरेका डेनीको छवी संसारकैलागी गौरवको विषय बन्दै आएको छ । चलचित्रमा उनले निर्वाह गरेका कालजयी भूमीका सदा स्मरणिय रहिरहने पक्का छ । त्यसैगरी उनको स्वरमा गुञ्जिरहने अजम्बरी गीत–संगीतले उनलाई चिरकालसम्म अमर बनाइराख्ने छ । समग्रमा उनको अभिनय कला र गायनले संसारका नेपाली भाषीहरुलाई एउटै विन्दूमा उभ्याउन मद्धत गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here