काठमाडौं – विश्वकप फुटलमा प्रयोग हुने बल निर्माणका लागि फुटबलको सर्वोच्च निकाय फिफाले लाखौं खर्चिने गर्छ । लामो अनुसन्धान र परीक्षणपछि उत्पादित बललाई मैदानमा पुनः परीक्षण गरिन्छ । अनि मात्रै बललाई विश्वकप मैदानमा पुर्याइन्छ ।
फिफा र विश्वका आयोजक राष्ट्रले मिलेर विश्वकपमा खेलिने बलको नाम राख्ने गर्छन् । सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपपछि बलको नामाकरण गर्न थालिएको हो ।
विश्वकप फुटबलको २० औं संस्करण ब्राजिलमा २०१४ मा भयो । त्यो विश्वकपमा खेलिएका बलको नाम राखिएको थियो – ब्राजुका । फिफा र आयोजक ब्राजिल मिलेर फुटबलको यस्तो नाम राखेका हुन् ।
यो बलको नाम ब्राजुका राख्नुपर्छ भनेर १० लाख ब्राजिलियन फुटबल फ्यानले भोट गरेका थिए । फिफाले त्यो बलका लागि अन्य नामसमेत प्रस्ताव गरेको थियो– बोस्सा, नोभा र कार्नाभालेस्का ।
तर, ब्राजिलियन फुटबल फ्यानले ब्राजुका शब्दले राष्ट्रियता झल्काउने भन्दै अन्य विकल्प अस्विकार गरेका थिए ।
दक्षिण अमेरिकी देश ब्राजिलमा आयोजना हुने विश्वकपका लागि प्रयोग हुने बल चीन र पाकिस्तान निर्माण भएको थियो ।
निर्माण कम्पनी एडिडासले ब्राजुका आजसम्मकै सर्वाधिक परीक्षण गरिएको फुटबल भएको दाबी गरेको थियो । अघिल्लो विश्वकपमा प्रयोग गरिएको जाबुलानी बलको चर्काे आलोचना भएपछि एडिडासले यसपटक बल निर्माणमा विशेष ध्यान पु-याएको जनाएको थियो ।
ब्राजुका विश्वकपअघि विभिन्न प्रतियोगितामा प्रयोग भइसकेको थियो । एसी मिलान, वायर्न म्युनिख, पाल्मेइरास र फ्युमाइन्सलाई परीक्षणका लागि ब्राजुका उपलब्ध गराइएको थियो । स्विडेन र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण फुटबल खेलमा पनि ब्राजुका प्रयोग गरिएको थियो । यो सिजनको रियल म्याड्रिड र बार्सिलोनाबीचको कोपा डेल रे फुटबलको फाइनलमा पनि ब्राजुका नै प्रयोग गरिएको थियो ।


































